कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट विदेशमा थप ३ जनाको निधन भएको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा सन्जिव सापकोटाका अनुसार यो साता प्राप्त तथ्यांकअनुसार यूकेमा २ जना र क्यानाडामा १ जना गैरआवासीय नेपालीको कोरोना संक्रमणका कारण निधन भएको हो ।
गैरआवासीय नेपाली संघ -एनआरएनए_ का अनुसार विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण शनिवार साँझसम्म हालसम्म २२ देशमा रहेका ३ सय ४५ जना नेपालीको निधन भएको छ । संयोजक डा. सापकोटाका अनुसार यो साता बेल्जियम, मलेसिया र युएईमा रहेका नेपालीहरुमा थप कोरोना संक्रमण देखिएको छ ।
हालसम्म ५३ देशमा ६३ हजार ८ सय ५४ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये ६१ हजार ९ सय ८० जना कोरोना संक्रमणमुक्त भएका छन् । विदेशमा संक्रमणमुक्त हुने दर ९६ दशमलव ८ प्रतिशत रहेको छ। यसैबीच, कोरोना भाइरसका कारणनेपालमा ३ हजार ३७ जनाको निधन भएको छ ।
नेपालमा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या २ लाख ७६ हजार ७ सय ५० जना भने २ लाख ७२ हजार ४ सय ३५ जना कोरोनाबाट मुक्त भएकाछन् । संक्रमणमुक्त हुने दर ९८ दशमलव ४ प्रतिशत छ ।
स्वास्थ्य समितिका संयोजक डा.सापकोटाले पछिल्ला दिनमा भारतमा संक्रमण तीव्र बनेको र भारतबाट नेपाल फर्किनेको संख्या बढिरहेकाले सबैलाई अनिवार्य स्वास्थ्य मापदण्ड अपनाउन आग्रह गर्नुभएको छ ।
उच्च स्वास्थ्य सतर्कता अपनाउनुका साथै खोप लगाएका र नलगाएका सबैले मास्क, सामाजिक दूरी, हातको सरसफाइ, हावा ओहोर दोहोर हुने ठाउँमा बसेर जनस्वास्थ्यको उपाय कडाईका साथ पालना गर्न उहाँले सुझाउनुभएको छ ।
यसैबीच काठमाडौंमा पछिल्लो समय फैलिएको धुलो धुवाँबाट जोगिन स्वास्थ्य समितिले सुझाव दिएको छ । डा सापकोटाले प्रदूषणले स्वासप्रश्वास लगायत भर्खरै कारोना संक्रमणमुक्तहरूलाई बढी असर गर्ने भन्दै सावधानी अपनाउन आग्रह गर्नुभएको छ । तत्कालिन रूपमा आँखा पोल्ने, आँखा चिलाउने, आँखा रातो हुने लगायतका लक्षणहरू देखिने र पछि दीर्घकालमा समेत असर पर्ने उहाँले बताउनुभयो । अत्यावश्यक बाहेक घर बाहिर ननिस्कन र निस्किहाले पनि शरीर ढाक्ने कपडा लगाउने, मास्क तथा चस्मा समेत लगाउन डा सापकोटाले सुझाउनुभएको छ ।