ओप्रा विन्फ्रीसँग राजकुमार ह्यारी तथा उनकी पत्नी डचिस अफ ससिक्स मेगन मार्कलले दिएको अन्तर्वार्तामा उठाइएका जातिय प्रकृतिका प्रसङ्ग निकै ‘चिन्ताजनक’ भएको भन्दै तिनलाई ‘गम्भीरतापूर्वक लिइने’ बकिङ्घम राजदरबारले जनाएको छ ।
महारानी एलिजाबेथको तर्फबाट जारी गरिएको एउटा वक्तव्यमा दरबारले अन्तर्वार्तामा उठाइएका विभिन्न प्रसङ्गबारे भिन्नभिन्न सम्झना रहेको भए पनि तिनलाई दरबारले आफ्नै तवरले सम्बोधन गर्ने जनाएको छ । मेगनले ओप्रासँगको कुराकानीमा शाही परिवारको नाम नखुलाइएका एक सदस्यले उनीहरूको छोरा आर्चीको छाला कत्तिको कालो होला भनेर सोधेको बताएकी थिइन् ।
ती सदस्यले ह्यारीसँग त्यसो भनेको र ह्यारीले उनलाई ती कुरा सुनाएको मेगनले बताएकी थिइन् । दरबारले मेगन र ह्यारी सधैँ ‘परिवारका प्यारा सदस्य’ रहने पनि उल्लेख गरेको छ ।
दरबारमा बैठक
राजदरबारको पछिल्लो प्रतिक्रिया अन्तर्वार्ताले उब्जाएको सङ्कटबारे उसले डाकेको बैठकपछि आएको हो । बैठकमा शाही परिवारका वरिष्ठ सदस्यहरू सहभागी थिए । मेगन र ह्यारीका छोराको छालाको रङ्लाई लिएर गरिएको टिप्पणीबारे अन्तर्वार्तामा प्रसङ्ग उठेपछि बकिङ्घम दरबारमाथि प्रतिक्रियाका निम्ति तीव्र दबाव परेको थियो । पछि राजकुमार ह्यारीले ओप्रालाई छालाको रङ्बारे टिप्पणी गर्ने मानिस महारानी वा राजकुमार फिलिप भने नभएको प्रस्ट्याएका थिए ।
दरबारले उसको वक्तव्यमा भनेको छ, पछिल्ला वर्षहरू ह्यारी र मेगनका निम्ति कति चुनौतीपूर्ण रहे भन्नेबारे सुन्दा सम्पूर्ण परिवार दुखित भएको छ । शाही परिवारले अन्तर्वार्तामा उठाइएका प्रसङ्ग पारिवारिक मामिला भएको ठानेको छ र तिनलाई परिवारभित्र सल्टाउन दिइनुपर्ने मान्यता राखेको बताइएको छ ।
यसबीच विपक्षी लेबर दलका नेता कियर स्टार्मरले मेगनले उठाएका जातिवाद तथा मानसिक स्वास्थ्य परामर्शमा असहयोगजस्ता विषयलाई ‘निकै गम्भीरतापूर्वक’ लिइनुपर्ने बताएका छन् । डाउनीङ स्ट्रिटका अनुसार प्रधानमन्त्री बोरिस जोन्सनले अन्तर्वार्ता सोमवार राति हेरेका छन् । तर उनले कुनै टिप्पणी गरेका छैनन् । –बीबीसी