काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले कोरोना रोकथामका लागि सरकार लकडाउन गर्ने मनस्थितिमा नरहेको बताएका छन् ।
मंगलबार (आज)काठमाडौँमा आयोजित ‘नेपाल हेल्थ कनक्लेभ २०२१’ मा बोल्दै मन्त्री त्रिपाठीले नेपालमा अब कहिल्यै लकडाउन नहुने बताएका छन् । त्रिपाठीले लकडाउनभन्दा अगाडि गर्नुपर्ने सबै किसिमका प्रभावकारी कदमहरू चाल्न सरकार तयार रहेकोसमेत बताए ।
लकडाउनले कोरोना नियन्त्रण गर्न कम हुने भए पनि सामाजिक जनजीवन र अर्थतन्त्रमा दीर्घकालीन असर पार्ने भएकाले सरकार लकडाउनमा जाने मनस्थितिमा नरहेको उनले बताए । ‘हामी यो चाहँदैनौं कि नेपाल फेरि पनि लकडाउनको अवस्थामा जाओस्। लकडाउनभन्दा अगाडि जति महत्वपूर्ण र प्रभावकारी कदमहरू छन्, सरकार ती सबै कदमहरू चाल्न तयार छ र त्यसको तयारी गरिरहेको छ।
किनभने लकडाउनले कम हुने त एकातिर छँदैछ तर जनजीविकालाई यसले पार्ने प्रभाव र समाजलाई पार्ने प्रभाव अर्थतन्त्रलाई पार्ने प्रभाव, सामाजिक जीवनलाई पार्ने प्रभावपछि र दीर्घकालीन रूपले हुने रहेछ तसर्थ संसारले नै जसरी यो लडाइँ लडिरहेको छ हामी पनि एउटा यो लडाइँमा योद्दा भएको हुनाले नेपाल पनि सबैको काँधमा काँध मिलाएर लडाइँ गर्न तयार छ,’ त्रिपा्िठीले भने ।
छिमेकी मुलुकमा कोभिडको नयाँ लहर आएकाले नेपालले सीमा नाकामा एन्टिजेन परीक्षण सुरू गरेको र सिमा नाकामा आइसोलेसन र क्वारेन्टिन निर्माण गर्ने काम भइरहेको उनले बताएका छन् ।
‘हाम्रो छिमेकमा सबैतिर अलि अलि बढ्दो स्थिति भएको हुनाले हामी त्यसको लागि सतर्क छौं। तर एउटा कुरा म यहाँहरूलाई विनम्रतापूर्वक निवेदन गर्न चाहन्छु, आतंकित हुनुपर्ने अवस्था छैन,’ उनले भने,‘ आतंकित हुनु भनेको यो संक्रमणलाई झन् थप्नु हो। सावधानी हुनुपर्छ, सतर्क हुनुपर्छ, सतर्कताका सबै उपाय अबलम्बन गर्नुपर्छ तर आतंकित गरेर जनतामा भय र त्रास गर्ने काम गर्नु हुँदैन।’
अहिले विश्वभर ८१ प्रकृतिका खोप विकसित भइरहेको र त्यसमध्ये १३ वटा खोप प्रचलनमा आइसकेको अवस्थामा नेपालले पनि ३ किसिमका खोपलाई मान्यता दिई प्रचलनमा ल्याएको र चीन सरकारबाट अनुदानमा उपलब्ध कोरोनाविरुद्धको खोप लगाउने अभियान बुधबारदेखि सुरू हुने पनि त्रिपाठीले बताए।