• Thu. Nov 21st, 2024

SPAIN NEPAL COM

सभामुख सापकोटा र पाकिस्तानका राजदूत हैदरबीच शिष्टाचार भेट

Byspainnepal

Mar 25, 2021

काठमाडौं ।

सभामुख अग्निप्रसाद सापकोटा र हालै जिम्मेवारी सम्हाल्नु भएका नेपालका लागि पाकिस्तानी राजदूत H. E. Syed Haider Shah बीच आज शिष्टाचार भेट भएको छ ।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा सभामुख सापकोटाले H. E. Syed Haider Shah लाई सफल कार्यकालको शुभकामना दिनु भयो ।

सभामुख सापकोटाले नेपाल र पाकिस्तानबीच ६१ बर्ष लामो कूटनीतिक सम्बन्धमा कहिल्यै तिक्तता नआएको बताउँदै दुई देशका जनताबीचको सम्बन्ध अझ पुरानो रहेको चर्चा गर्नु भयो ।

उहाँले निर्मल पूर्जा मगर नेतृत्वको नेपाली हिमाल आरोहीहरूले यसै बर्ष पाकिस्तानको केटु हिमाल आरोहणमा प्राप्त गरेको ऐतिहासिक सफलतापछि पाकिस्तानका प्रधानमन्त्री, सेना प्रमुख लगायतले गर्नु भएको न्यानो स्वागत र प्रदान गर्नु भएको हौसलाका लागि आभार प्रकट गर्नु भयो ।

संघीय संसदमा नेपाल–पाकिस्तान संसदीय मैत्री समूह रहेको जानकारी गराउँदै सभामुख सापकोटाले संसद–संसदबीचको सम्बन्धलाई थप विकास, विस्तार र सुदृढिकरण गर्दै दुवै देशको समृद्धिका सम्भावना खोज्दै अघि बढ्न सकिने बताउनु भयो ।

उहाँले दुई देशबीच कृषि, हाइड्रोपावर, पर्यटन, सूचना–प्रविधि लगायतका क्षेत्रमा सहकार्य गर्न सकिने सम्भावना औंल्याउनु भयो ।

राजदूत H. E. Syed Haider Shah ले दुई देशबीच औपचारिक सम्बन्धले ६ दशक पार गरेको र जनता–जनताबीच लामो ऐतिहासिक र साँस्कृतिक सम्बन्ध रहेको चर्चा गर्नु भयो ।

उहाँले आफ्नो कार्यकालमा नेपालमा व्यापार लगायतका क्षेत्रमा सहकार्यका लागि गुणात्मक पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

पर्वतारोहण, जलविद्युत लगायतका क्षेत्रमा सहकार्यका सम्भावना खोज्न पहल गर्ने उहाँको भनाइ छ ।

राजदूत हैदरले नेपाली नेतृत्वले दक्षिण एशियाली सहयोग संगठन सार्कको स्थापनाकालदेखि नै अवलम्बन गरिरहेका विषय प्रशंसनीय रहेको चर्चा गर्दै सार्कका माध्यमबाट बहुपक्षीय सम्बन्धका साथै क्षेत्रीय शान्ति र समृद्धिमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *