• Thu. Nov 21st, 2024

SPAIN NEPAL COM

भिसा लगायतका कन्सुलर सेवा प्रभावकारी नभएको एनआरएनए स्पेनका अभियान्ताहरुको गुनासो

Byspainnepal

Jun 18, 2022

काठमाडौं, ४ असार । गैरआवासीय नेपाली संघका अभियान्ताहरुले सरकारले संघले अघि सारेका नागरिकता र लगानीसम्बन्धीका माग अविलम्ब पूरा गर्नुपर्नेमा जोड दिएका छन् । नेपालीमा गैरआवासीय नेपालीहरुमार्फत लगानीको ठूलो सम्भावना रहेको भन्दै त्यसको लागि सहज वातावरण बनाईदिन उनीहरुले माग गरेका हुन् ।
त्यस्तै, सम्बन्धित देशमा रहेका गैरआवासीय नेपालीहरुको लागि भिसालगायतका कन्सुलर सेवापनि प्रभावकारी बनाउन उनीहरुले माग गरेका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) स्पेनका अध्यक्ष शालिकराम डुम्रेले स्पेनमा नेपाली दूतावास हुँदापनि फ्यामिली भिसाको समस्या रहेको सुनाए । दूतावासले राम्रोसँग समन्वय नगरेको उनको गुनासो छ ।


उनले भने,‘हामीले परिवारका सदस्यहरुलाई घुम्नको लागि लग्न खोज्दापनि समस्या भयो, भिसाको लागि समय खर्चिनुपर्ने भयो । बुवाआमालाई भिजिट भिसामा आफू बसेको देश लैजान सकिएको छैन् । युरोपमा बस्नेहरुलाई राम्रो व्यवहार भएन ।’
भिसालगायतका कन्सुलर सेवा प्रभावकारी बनाउनको लागि नेपाल सरकार खासगरी परराष्ट्र मन्त्रालयले उचित कदम चालोस भन्ने उनको भनाई छ । उनले स्पेनमा गैरआवासी नेपालीहरुको दोस्रो पुस्ता स्किल्ड मेनप्यावरको रुपमा देखा परेको भन्दै उनीहरुलाई पनि नेपालको विकास र समृद्धिको लागि उपयोग गर्नसक्नुपर्ने सुनाए ।


त्यस्तै, उनले सबै नेपालीहरु रहरले नभएर बाध्यताले विदेशिएको भन्दै पारिवारिक मिलनको लागि आवश्यक प्रक्रिया अपनाउँदापनि भिसा प्राप्त गर्न समस्या भएको गुनासो पोखे ।
यस्तै, गैरआवासीय नेपाली संघ, युरोप क्षेत्रका संयोजक चिन्तामणि सापकोटाले पनि भिसालगायतका कन्सुलर सेवामा देखिएको समस्याको उठान गरेका थिए । उनले भने,‘हामीलाई स्पेनमा धेरै समस्या रहेको छ, स्पेनवासीका लागि स्पेन कन्सुलर र नेपाल परराष्ट्र मन्त्रलय हाम्रो समस्याको समाधान गर्न खोज्नुहुन्न ? किन हामीलाई कन्सुलरले भनेको समयमा समस्याको समाधान गर्दैन् ?’ कार्यक्रममा बाग्लुङ समाज स्पेनका अध्यक्ष राजु थापाको पनि उपस्थिति थियो । उनी एनआरएनए, स्पेनका सल्लाहकारपनि हुन् ।

समाचार स्रोत – रिपोर्ट्स क्लब नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *