काठमाडौं – आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपाल, स्कटल्यान्ड र नामिबियाबीचको खेल स्पेनमा हुने पक्का भएको छ । स्कटल्यान्डमा जुलाईमा हुने भनिएको उक्त त्रिकोणात्मक सिरिज स्पेनमा हुने पक्का भएको नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुर बहादुर चन्दले जानकारी दिएका छन् । ‘जुलाई तेस्रो साता स्पेनमा हुने टुङ्गो लागेको छ । त्यहाँको स्थानिय सरकारबाट मात्र स्वीकृति लिन बाँकी छ । हुने निश्चित छ । क्वारेनटाइनको समय, खेलाडी संख्या, उडान तालिका, खेल तालिका, भिषा प्रकृया र तयारी कहाँ हुने भन्ने मात्र बाँकी छ । भोली सम्म (सोमबार) सम्म सबै टुङ्गो लाग्छ’, चन्दले भने । नाम पठाउने तयारी गरि रहेको छ । क्यानले खेलाडीको संख्या २० जना माग गरेको छ । स साना कुरा बाँकी रहेपनि स्पेनमा हुने चाहिँ पक्का भएको चन्द बताउँछन् ।
तयारीमा समस्या
उक्त सिरिज हुन डेढ महिना बाँकी छ । तर नेपालले तयारी कहाँ गर्ने मुख्य समस्या छ । नेपालमा दोस्रो चरणको कोरोना महामारीको कारण सरकारको लकडाउनको कारण सम्भव देखिदैन । स्पेन नेपालको स्तरको टोली होईन । आइसिसी वरियतामा स्पेन ४० औं स्थानमा छ । स्पेनमा टोली छैन । यूएई ब्यस्त छ । ओमानले गर्मीको कारण गर्न नसकिने जवाफ दिएको छ । ओमानमा ४५ डिग्रीको तापक्रम छ । जसले नेपाललाई तयारीको समस्या हुने देखिन्छ । सानो देशमै गएर भएपनि अभ्यास गर्ने छ । कतारमा एक हप्ता अभ्यास गर्ने सम्भावना छ ।
स्पेनमा ओडिआई मान्यता मैदान
फुटबलको लागि विश्व प्रख्यात स्पेनमा ओडिआई स्तरको क्रिकेट हुने भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ । तर स्पेनको अल्मेरियामा रहेको डेजर्ट स्प्रिंग्स क्रिकेट मैदानलाई आइसिसीले गत अप्रिलमा ओडिआई मान्यता दिई सकेको छ । जुन मैदानमा इंग्ल्यान्डका चर्चित काउन्टी क्लबहरु डर्बीशायर, लन्काशायर र सोमरसेट अभ्यास समेत गर्ने गर्दछन् । जुन मैदान निकै सुन्दर छ । आइसिसी विश्वकप लिग–२ एकदिवसिय त्रिकोणात्मक सिरिज २०२३ फेब्रुअरी सम्म चल्ने छ । सात टोली सहभागि सबै टोलीले होम अबे त्रिकोणात्मक सिरिज खेल्ने छन् । एक टोलीले कुल ३६ ओडिआई खेल खेल्ने छन् । शीर्ष तीन टोली २०२३ मा भारतमा हुने एकदिवसिय विश्वकपको लागि ग्लोबल छनोटमा स्थान बनाउने छन् । पुछारका चार टोलीले क्वालिफायर खेल्नुपर्ने हुन्छ । क्वालिफायरमा शीर्ष दुईमा पर्न सके ग्लोबल छनोट खेल्ने अवसर पाउने छन् । २०१९ देखि सुरु भएको आइसिसी विश्वकप लिग–२ सिरिजमा नेपालले एक मात्र त्रिकोणात्मक सिरिज खेलेको छ । नेपालले गत वर्ष माघमा घरेलु मैदानमा ओमान र अमेरिकासँग खेलेको थियो । जसमा ओमानसँग दुई खेलमा पराजित हुँदा अमेरिकालाई दुवै खेलमा हराएको थियो ।
नेपालमा दोस्रो चरणको कोरोना महामारीको कारण क्रिकेट गतिविधि ठप्प छ । पछिल्लो पटक नेपालले बैशाखमा घरेलु मैदान टियुमा नेदरल्यान्ड्स र मलेसियासँगको त्रिकोणात्मक टि२० सिरिजमा सानदार प्रदर्शनका साथ उपाधि जितेको थियो । प्रशिक्षक डेभ ह्वाटमोर श्रीलंका फर्किसकेका छन् । स्पेनमा उक्त सिरिज हुने भएसँगै नेपाल फर्कने छन् । ह्वाटमोरको आगमनसँगै नेपाली क्रिकेटको ब्याटिङमा सुधारको संकेत र नयाँ आशा पलाएको छ ।
हाम्रो खेलकुदबाट