अक्सफोर्डसँग मिलेर बेलायतको एष्ट्राजेनेका कम्पनीले विकाश गरेको कोरोनाबिरुद्धको खोप स्पेन सहित धेरै देशहरुले रोक लगाएका छन। जर्मनी, फ्रान्स र इटली सहित धेरै युरोपेली देशहरुले पनि अस्थायीरुपमा वितरणमा रोक लगाएका छन् । रगत जम्ने समस्यासँग भ्याक्सिनको सम्बन्ध भएको आशंका गरिएपछि विभिन्न मुलुकहरुले यो भ्याक्सिन वितरणमा रोक लगाइरहेका छन् ।
यसअगाडि आयरल्याण्ड, बुल्गेरिया, डेनमार्क, नर्वे र नेदरल्याण्डसले पनि यो खोप वितरणमा रोक लगाएका छन् । त्यस्तै इन्डोनेशिया, कंगो, थाइल्याण्ड, रोमानिया, आइसल्याण्ड, अष्ट्रिया लगायतका मुलुकहरुले पनि यो भ्याक्सिन वितरण स्थगित गरेका थिए । इस्टोनिया, लाटभिया, लिथुवानिया र लक्जेम्बर्गमा पनि यो भ्याक्सिन वितरणमा रोक लगाइएको छ ।
नेपालमा गत माघ १४ देखि यो भ्याक्सिन वितरण गरिएकोमा लाखौंले यो भ्याक्सिन लगाइसकेका छन् । एष्ट्राजेनेकाको भारतमा उत्पादित भर्सन कोभिशिल्ड नेपालमा वितरण गरिएको हो । तर नेपालमा अहिलेसम्म यो भ्याक्सिनबाट कुनै गम्भिर प्रकारको साइड इफेक्ट भएको खबर भने आएको छैन । अमेरिकामा भने यो भ्याक्सिन अझै प्रयोगमा आएको छैन । यूकेमा गरिएको परीक्षणमा केही अनौठा र अमिल्दा तथ्यांकहरु देखिनुका साथै यसमा एउटा गम्भीर प्रकारको गल्ती देखिएका कारण अमेरिकामा आपतकालिन प्रयोगको अनुमतिका लागि आवेदन दिनमा समेत ढिलो भएको हो । यूकेमा डिसेम्बर ३० मा नै प्रयोगको स्वीकृति पाएको यो भ्याक्सिनले लगत्तै भारत, मेक्सिको, अर्जेन्टिना र अन्य केही देशमा पनि जाने अनुमति पाएको थियो । सेरम इन्स्टीच्युट अफ इन्डियाले भारतमा भ्याक्सिनको आपतकालिन प्रयोगका लागि अनुमति पाएको थियो । र लगत्तै नेपालमा पनि भ्याक्सिनको प्रयोगका लागि अनुमति दिइएको थियो ।
दुई डोज दिनुपर्ने यो भ्याक्सिन बेलायत, दक्षिण अफ्रिका र ब्राजिलमा झण्डै ५ हजार ८ सयमा परीक्षण गरिएको थियो । यो भ्याक्सिन लक्षण सहितको कोरोना रोकथामका लागि ६२ प्रतिशत प्रभावकारी रहेको निष्कर्ष निकालिएको थियो ।
एष्ट्राजेनेका परीक्षणमा एउटा गम्भिर गल्ती समेत भएको थियो । ५५ बर्षभन्दा कम उमेरका परीक्षणमा सहभागी एउटा समुहलाई गल्तीले भ्याक्सिनको पहिलो डोजको पूरै मात्रा नभई आधामात्रा प्रदान गरिएको थियो । त्यसपछि दोश्रो डोजको भने पूरै मात्रा प्रदान गरिएको थियो । अमेरिकाको भ्याक्सिन स्वीकृतिका लागि अनुमति दिने निकाय एफडीएका सल्लाहकार समितिका सदस्य समेत रहेका भ्याक्सिन विज्ञ डाक्टर कोडी मेस्नरले यसलाई गम्भिर प्रकारको गल्ती भएको बताएका छन् ।
यहाँ अनौठो त के छ भने पहिलो डोज आधा र दोश्रो डोज पूरै प्राप्त गरेका परीक्षणमा सहभागीहरुमा कोरोनाको संक्रमणबाट बच्नमा प्रभावकारिता बढी अर्थात् ९० प्रतिशतसम्म देखिएको थियो । पहिलो डोज पूरै लगाएकाहरुको तुलनामा आधा लगाएकाहरुमा भ्याक्सिन बढी प्रभावकारी देखिएपछि विज्ञहरु नै अलमलमा परेका छन् । तर पहिलो डोज गल्तीले आधा र दोश्रो डोज पूरै लगाएकाहरु १४ सयजनामात्र रहेका थिए ।