सर्वप्रथम १११ औ अन्तराष्ट्रिय नारी दिवसको अवसरमा सम्पुर्णमा शुभकामना ब्यक्त गर्दछु । हुन त यो एक बर्षमा गरिने कर्ममाण्डी दिवसकोबारेमा त्यति धेरै समय दिनु आबश्यक ठान्दिन । बरु हामीले हाम्रो आवाज र संघर्ष प्रत्येक दिन हरेक मोर्चामा जारी राख्नुपर्छ भन्न चाहान्छु ।
म आफै करिब १ दशक देखी प्रवासमा रहँदा मैले भोगेका र महसुस गरेका केही अनुुभव र भोगाइ यहाँ राख्न गैरहेकी छु । प्रवासमा रहेर नारी दिवसको समिक्षा गर्दा पहिलो कुरा त नेपालमा जुन अबस्था छ महिलाको र हामीले भोगेर आयौ । यहाँ प्रवासमा आउँदा पनि हाम्रो पितृ सत्तात्मक समाजले त्यो कुरा संगै बोकेर ल्याएको अनुुभव हुन्छ ।
म र हामी सवै प्रवासी महिलाको अवस्था नेपालमा महिलाले जुन परिस्थितीको सामना गर्न परेको छ त्यसमा भुगोल परिवर्तन भएपनि उस्तै खालको अबस्थामा परिर्वतन हुन सकेको छैन् । प्रवासमा यहाँको देशको अबस्थाले केही स्वतन्त्रता महसुस हुन्छ । तर ति कुरा पनि भेषभुषा र काममा देखिएको स्वतन्त्रता मात्रै हो । जुन कुरा विदेशको समाजमा बसिसकेपछि सामाजिकरण हुनका लागि बाध्यत्मक अबस्थाबाट सिर्जना भएका स्वतन्त्रता हुन भन्ने लाग्छ । तर विदेशमा पनि सवै नेपालीको घर, नेपाली समाज र अझै भन्नुपर्दा नेपालीका लागि भनेर गठन गरिएका सवै खालका संघसस्थामा नेपाली पितृसत्तात्मक सोच र ब्यवहार जस्ताको जस्तै छ ।
नेपालमा जस्तै प्रवासमा बस्ने महिला दिदीबहिनीहरुमा चेतनाको स्तर धेरै बढेको छ । अझै विदेशमा हुर्कदै गएको दोश्रो पुस्ता धेरै अगाडी पुगिसकेको छ । तर पनि पुरानो सोचबाट ग्रसित समाजले तिनका लागि अवसर र क्षमता विकासमा बन्देज लगाएको महसुस हुन्छ ।
विदेशमा गठन भएका संघसंस्थामा महिलाको उपस्थिती एकदमै कम छ । यसको मतलव महिला नभएर होइन । विदेशमा पनि पुरुषकै संख्यामा महिला छन । र अबसर पाएका केही महिलाले देखाएको कार्यदक्षताले महिलाहरु सक्षम छन भन्ने कुराको पुष्टि पनि गरेको छ । तर महिलाले पाउने अबसर भने हरेका समाज र संघसस्थामा महिला विभाग अथवा महिला उपाध्यक्ष भनेर बाध्यकारी पदमा मात्रै राखिएको देखिन्छ । तर कुनै पनि संस्थामा नेतृत्वदायी भुमिकामा महिला देखिदैनन । त्यो एनआरएनए होस या अरु कुनै सामाजिक संस्था । महिलालाई महिला मात्रै हेर्ने विभाग दिइन्छ । के महिलाले पुरुषको नेतत्व गर्न सक्दैनन् ? प्रवासमा बसेर हेर्दा आजको मुख्य प्रश्न यो हो भन्ने लाग्छ । अबस्य सक्छन । महिलाले नेतृत्व पुरुषको मात्रै होइन पुरा समाजको गर्न सक्छन । र धेरै उदाहरण पनि छन कि महिलाको नेतृत्वमा नै एउटा समानताको न्याय पुर्ण समाज चल्न सक्छन । तर यहाँ विदेशमा आइसकेपछि पनि महिलाको काम भरसक घरमै बस्ने र बच्चा हेर्नेमै सिमित छ । घरको सरसफाइ, खानपानको ब्यवस्थापन सवै महिलाकै जिम्मेवारीमा पर्छ । म अचम्म पर्छु विदेश त्यसमा पनि यो युरोपको संस्कृतीलाई देखेर भोगिसक्दा पनि अझै हामी नेपाली समुदायको पुरानो सोचमा किन परिवर्तन आउन सकेको छैन । यहाँका प्रत्येक सरकारी अफिसमा जाँदा देख्छु महिलाले पुरुषकै सरहमा बसेर काम गरेका हुन्छन् । काम क्षमताका आधारमा वितरण हुन्छ नकि लिङ्गका आधारमा । तर हाम्रो नेपाली समाजमा अहिले पनि महिलालाई पछि लगाएर हिड्ने परिपाटी कायमै छ । पुरुषहरु विभिन्न संघसस्थाका बैठक र कार्यक्रममा गएका हुन्छन तर घरमा संगै भएका आफ्ना श्रीमतीलाई संगै लिएर गएको अथवा अगाडी बढाएको देखिदैन । पहिले आफु अगाडी बढ्ने र त्यसपछि महिलालाई राख्नै पर्ने पदमा मात्रै औपचारिकताका लागि राखिदिने परिपाटी कायमै छ । संघसस्थाले गर्ने विभिन्न मनोरन्जनात्मक कार्यक्रममा नाचगान गर्न भने महिलालाई नै ल्याउने गरिन्छ । अरु कुरामा अवसर नदिने तर नाचगान गर्ने काममा खोजिखोजि लगाउने प्रवासी संघसस्थाको गतिविधि देख्दा के हामी महिला नाचगान अथवा मनोरञ्जनका लागि मात्रै बनेका हौ त भनेर सोध्न मन लाग्छ । प्रवासको नेपाली ब्यवहारले त्यही देखाएको छ ।
त्यति मात्रै होइन् । ब्यवसायिक तहमा पुुगेका महिलाहरुले बाहेक अरुले अहिले पनि आर्थिक अवसरबाट बन्चित नै हुनुपरेको छ । विदेशमा पनि आर्थिक कारोबारमा पुरुषकै हात हुन्छ त्यसमा महिला नेतृत्वदायी होइन एउटा सहयोगी भुमिकामा मात्रै देखिन्छन् । एउटा घर देखि समाजसम्म उस्तै अबस्था देखिन्छ । यसमा हामी स्वयम महिलाको पनि केही कमजोरी देख्छु । तर धेरै पुरुषको अधिनमा रहेको पितृसत्तात्मक सोचकै कारण हो । महिलाहरुले आफ्नै कारणले अघि बढ्न खोज्दैनन । यसमा कोहीको ब्यक्तिगत इच्छा नभएर हुन सक्छ । तर धेरै महिलालाई यही पुरानो पितृसतात्मक सोचले गाजेको छ । उनीहरु स्वय पहिले आफ्नो श्रीमानलाई अगाडी बढाउछन् । श्रीमान आफुभन्दा कम क्षमताको किन नहोस उनीहरुलाई उसैको नेतृत्व स्विकार्य भएजस्तो देखिन्छ । अब यसमा हामी चेतनशील महिलाले सोच्नुपर्ने बेला आएको छ । विदेशमा आएर पनि नेपाली समुदायको पुरानो सोच बदलिएको छैन भनेर हामीले भनिरहँदा हामी महिलाहरुले पनि अबसरहरु खोसेर लिने र अबसरमा दावी गर्ने बानी बसाउनुपर्छ भन्ने लागेको छ । म यो नारी दिवसको अबसरमा सवै प्रवासी महिलाहरुमा अगाडी आउन र आफुमा रहेको क्षमता प्रर्दशन गर्न आग्रह गर्दछु ।
[लेखक, गैरआवासीय नेपाली संघ, कोष्टाब्लाङका स्पेनको महिला संयोजक हुनुहुन्छ ।]