गैर आवासीय नेपाली संघ, यूरोप उपसंयोजक मुक्त बहादुर गुरुङको पहलमा विभिन्न देशहरुबाट संकलित सहयोग रकम तनहुँको स्कुललाई हस्तान्तरण गरिएको छ । विभिन्न देशका एनआरएनए अभियान्ता, प्रवासी नेपाली मंचका प्रतिनिधी तथा समाजसेवीहरुको तर्फबाट प्राप्त भएको ५ लाख २५ हजार रुपैया शुक्रवार आयोजित एक कार्यक्रमका बीच तनहुँको शुक्ला गण्डकी नगरपालिका १२ बराहडाडा स्थित बाराही आधारभुत प्राथमिक विद्यालयलाई हस्तान्तरण गरिएको डिआरसी गुरुङले जानकारी दिनुभयो । शुक्ला गण्डकी नगरपालिका उपप्रमुख तथा नेकपा एमालेकी नवनिर्वाचित केन्द्रीय सदस्य सविता रसाइसीको उपस्थितीमा विद्यालयमा भएको एक कार्यक्रमका बीच बिद्यालयकी प्रधानध्यापक राधा गुरुङलाई उक्त सहयोग रकम प्रदान गरिएको हो । उक्त रकम मध्ये विद्यालयलाई भवन पूर्ननिमार्णको लागि ३ लाख नगद तथा ५० हजार बरावरको विद्यार्थीहरुलाई झोला तथा कापी कलम लगायतका शैक्षिक सामाग्री, विद्यालयको आगामी बार्षिक उत्सवको लागि ५० हजार सहयोग गरिएको गुरुङले जानकारी दिनुभयो । यस्तै उक्त सहयोग रकम मध्ये ५० हजार बराह भोर्ले मोटरबाटो मर्मतका लागि खर्च गर्ने गरी सहयोग गरिएको उहाँले बताउनुभयो ।
डिआरसी गुरुङले शुरु गर्नु भएको सहयोग अभियानमा एनआरएका अभियन्ताहरु महासचिबका उम्मेदवार गौरी जोशी (अमेरिका) ,सचिबका उम्मेदवार रामशरण सिम्खडा (यूके) , सचिबका उम्मेदवार ओम गुरुङ (जापान), प्रविण गुरुङ (कतार), उपाध्यक्ष धर्मराज अधिकारी (अष्ट्रेलिया) लगायतले सहयोग गर्नु भएको थियो । यस्तै प्रवासी नेपाली मंचका प्रतिनिधिहरु र अमेरिकामा रहेका उक्त विद्यालयका पूर्व विद्यार्थीहरुले पनि सहयोग गरेका थिए । यस्तै स्पेनका विभिन्न समाजसेवीहरुले पनि गुरुङको उक्त अभियानलाई साथ दिदै सहयोग गर्नु भएको थियो । आफु पढेको विद्यालयलाई प्रवासबाट सहयोग रकम संकलन गरी सानो भएपनि सहयोग गर्न पाएकोमा खुसी लागेको गुरुङले बताउनुभयो । उहाँले आफ्नो सहयोग अभियानमा साथ दिई सहयोग गर्ने सवैलाई धन्यवाद दिनुभएको छ ।