गैर आवासीय नेपाली संघ, स्पेनले स्पेनमा रहने नेपालीहरुलाई आउने कानुनी समस्याको समाधान गर्न कानुनी परामर्श कार्यक्रम गर्ने भएको छ । संघको कार्यालय बार्सिलोनामा सोमवार बेलुका ५ बजे गर्न लागिएको उक्त कार्यक्रममा विशेषगरी आप्रवासी सम्बन्धी कानुनका बिज्ञ वकिल जोर्डी बुस्केट प्लासाको सहभागिता रहने अध्यक्ष शालिकराम डुम्रेले जानकारी दिनुभयो । साथै ब्यवसाय गरिरहेकाहरुका लागि परामर्श दिन एकजना खेस्तोरको पनि उपस्थित रहने उहाँले बताउनुभयो । उक्त अबसरमा स्पेनमा पछिल्लो समयमा अपडेट भएका नियम कानुनहरुको बारेमा जानकारी लिनुका साथै स्पेनमा बस्ने नेपालीहरुले सामना गर्नुपरेका अराइगो सोसियल, फेमिली भिजा, लार्गा दुरायिसन तथा ईयु कार्ड, रेसिडेन्सी नविकरण र ब्यापार ब्यवसाय गर्नेहरुले समेत आफुलाई परेको समस्या र समाधानको उपाएको बारेमा जिज्ञासा राख्न सक्ने अध्यक्ष डुम्रेले जानकारी दिनुभयो । यस्तो खालको कानुनी परामर्श कार्यक्रमलाई निरन्तरता दिदै जाने र आगामी कार्यक्रममा स्पेनका अन्य क्षेत्रमा बस्ने नेपालीहरुलाई पनि समेट्ने गरी योजना बनाउने बताउनुभयो ।
यसैबीच संघको शनिवार बसेको कार्यसमितीको दोस्रो बैठकले संघका गतिबिधिहरुलाई प्रभावकारी बनाउन विभिन्न उपसमितीहरु गठन गरेको छ । गठन भएका उपसमितीहरुमा अहिले कार्यसमितीको तर्फबाट संयोजक तोकिएको र आबश्यक्ता अनुसार अन्यलाई थप्दै जाने महासचिव विदुर गौतमले जानकारी दिनुभयो । अध्यक्ष शालिकराम डुम्रेको संयोजकत्वमा संघसंस्था समन्वय उपसमिती गठन भएको छ भने अन्य उपसमितीमा अनुसासन उपसमितीको संयोजकमा उपाध्यक्ष सनु राउत, लेखा समिती तथा समस्या पहिचान र समाधान उपसमितीको संयोजकमा उपाध्यक्ष कृष्णराम रानाभाट, क्षेत्रहरु र दुताबाससँग समन्वय उपसमितिको संयोजकमा उपाध्यक्ष रोशन पाठक,महिला संमन्वय उपसमिती संयोजकमा महिला उपाध्यक्ष सृजना लामिछाने र उपसंयोजकमा महिला संयोजक देवी गौतम भण्डारी, आर्थिक ब्यवस्थापन उपसमितिको संयोजकमा कोषाध्यक्ष शन्त बहादुर क्षेत्री, कला संस्कृति र “हेल्लो म नेपाली” कार्यक्रम उपसमिती संयोजकमा सचिव एनके भट्टराई, सुचना तथा प्रचारप्रसार उपसमिती संयोजकमा प्रवक्ता लक्ष्मण खत्री, सन्चार माध्यम समन्वय उपसमितीको संयोजकमा सदस्य कमल पराजुली, विधान उपसमितीको संयोजकमा महासचिव विदुर गौतम, कार्यालय ब्यवस्थापन र संचालन उपसमितीको संयोजकमा सचिव अरुण घिमिरे, युवा तथा खेलकुद उपसमितीको संयोजकमा युवा संयोजक मनुशजंग खड्का रहनुभएको छ । साथै क्षेत्रीय सचिवहरुलाई सम्बन्धित क्षेत्रसँग समन्वय गरी क्षेत्रका गतिविधिबारे केन्द्रलाई जानकारी गराउने जिम्मेवारी दिइएको छ ।
साथै बैठकले सधैको बर्ष जस्तै यस बर्ष पनि दशै तिहार विशेष कार्यक्रम गर्ने निर्णय गरेको छ । अहिलेको अबस्थामा हलमा भेला भएर कार्यक्रम गर्न सम्भब नभए भच्र्युअल माध्यमबाट भएपनि शुभकामना आदानप्रदान कार्यक्रम गर्ने निर्णय भएको छ ।
यस्तै बैठकले एनआरएनए स्पेनको भवन खरिदका लागि सहयोग गर्ने ब्यक्तिहरुलाई धन्यवाद दिएको छ । एनआरएनए स्पेनको भवन खरिदको लागि एनआरएनए अमेरिकाका निवर्तमान अध्यक्ष सुनिल साहबाट १ हजार युरो, संघका उपाध्यक्ष सतु राउतबाट सम्पुर्ण लागतको १ दशमलब ५ प्रतिसत, प्रस्तावित आईसीसी सदस्य प्रकास तिमिल्सेनाबाट सम्पुर्ण लागतको १ प्रतिसत, एनआरएनए युरोप क्षेत्रीय उपसंयोजक मुक्त बहादुर गुरुङबाट ५ सय युरो र अन्तराष्ट्रिय स्याङ्जा समाजका महासचिव हेमन्त रानाभाटको तर्फबाट ५ सय युरो सहयोगको प्रतिबद्धता आएको छ । साथै संघको बैठकले संस्था दर्ताको लागि प्रक्रिया अघि बढिसकेको र त्यसलाई छिटो सम्पन्न गर्ने निर्णय गरेको छ ।