• Thu. Nov 21st, 2024

SPAIN NEPAL COM

एनआरएनए ‘ग्लोबल सिंगिङ’ आइडल हुदैं

Byspainnepal

Apr 3, 2021

काठमाडौं । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्, मध्यपूर्व क्षेत्रीय युवा विभागले ‘ग्लोबल एनआरएन सिंगिङ आइडल, सेकेण्ड जेनेरेशन – २०२१’ को पहिलो सिजन आयोजना गर्न लागेको छ ।

नेपाली कला, संस्कृतिको संरक्षण एवं प्रवासमा बसेर संगीत साधना गरिरहेका नेपाली प्रतिभाहरूलाई पहिचान एवं प्रवर्द्धन गर्ने उद्देश्यले ‘ग्लोबल एनआरएन सिंगिङ आइडल सेकेण्ड जेनेरेशन – २०२१’ को आयोजना गर्न लागिएको युवा विभागले जनाएको छ ।

एनआरएनए मध्यपूर्व युवा विभागका संयोजक राज रेग्मीका अनुसार एनआरएनए दोस्रो पुस्ताको यो अभियानमा ४० वर्षसम्मका नवोदित गायक–गायिका भर्चुअल माध्यम मार्फत् सहभागी हुनसक्ने छन् । ‘ सार्क मुलुक बाहेकका, गैरआवासीय नेपाली संघ गठन भएका भएका सबै राष्ट्रबाट प्रतियोगीहरुलाई सहभागी गराइने छ,’ रेग्मीले भने, “विश्वभरका ६ वटा क्षेत्रीय समितिको सहभागिता रहनेछ, प्रत्येक क्षेत्रीय समितिबाट कम्तिमा १२ जना प्रतियोगीहरू सहभागी हुन पाउनेछन भने ६ वटा भन्दा धेरै राष्ट्र सहितको क्षेत्रीय समिति छ भने प्रति एक राष्ट्र बराबर १ प्रतियोगी थपिने छन्।”

गैरआवासीय नेपाली संघका केन्द्रीय अध्यक्ष कुमार पन्त प्रमुख सल्लाहकार एवं आयोजक क्षेत्रका क्षेत्रीय संयोजक प्रविण गुरुङको मुख्य सहकार्यमा आयोजना गरिन लागेको उक्त कार्यक्रममा गायक उदय सोताङ, गायिका सुनिता दुलाल, गायक विजय लामा र प्राश्ना शाक्य निर्णायक भूमिकामा रहेका छन् भने विवेक खतिवडाले उद्घोषण गर्ने छन्। भने गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतार होस्ट कन्ट्रीको भुमिकामा रहेको छ।

‘ग्लोबल एनआरएन सिंगिङ आइडल सेकेण्ड जेनेरेशन – २०२१’ मुख्य सहयोगीको भुमिकामा रहेका मध्यपूर्व संयोजक प्रवीण गुरुङले नेपाली संगीतकर्मीहरूले प्रवासमा रहँदा पनि आफ्नो क्षमतालाई प्रष्पुटन गर्ने अवसर सिर्जना गर्नकै लागि कार्यक्रम आयोजना गरिएको बताए । गुरुङले थपे, “नेपाल आइडल, भ्वाईस अफ नेपाल, बुकी-वुकी जस्ता ख्याति प्राप्त नेपालकै पहिलो अन्तर्राष्ट्रिय स्तरिय गीति तथा नृत्य रियालिटी शो कार्यक्रमको ग्रान्ड फिनालेलाई कतारमा सम्पन्न गर्नको लागि मैले व्यवस्थापन हेर्ने जिम्म अपएको थिएँ। यो लामो अनुभवका कारण पनि मध्यपूर्व यूवा विभागले गर्न लागेको यस कार्यक्रमलाई सहजीकरण गर्न सजिलो भएको हो।”

‘ग्लोबल एनआरएन सिंगिङ आइडल सेकेण्ड जेनेरेशन – २०२१’ यो पहिलो सिजन रहने छ भने हरेक कार्यकाल अर्थात् प्रत्येक २ वर्षमा एक पटक यो कार्यक्रम हुने रेग्मीले जानकारी दिए। ‘हामीले यस प्रकारको कार्यक्रम शुरुवात गरेका छौं। यसलाई निरन्तरता दिन जसरी मेरा अग्रज मध्यपूर्व संयोजक प्रविण गुरुङले सहजीकरण गरिरहनु भएको छ त्यसै गरी अब आउने युवा संयोजकलाई मैले सहजीकरण गर्ने छु।’

‘कोरोना कहरका कारण यस पटक भर्चुअल गर्नु पर्ने वाध्यता रहे पनि आगामी सिजनमा अन्तर्राष्ट्रिय स्तरको स्टेज तयार पारी अन्तर्राष्ट्रिय स्तरकै रियालिटी शो गर्ने योजना रहेको छ।’

आईडल विजेता प्रतियोगीले दुई लाख रुपैयापुरस्कार प्राप्त गर्ने छन् । द्वितीय पुरस्कार एक लाख रुपैयाँ, तृतीय पुरस्कार ५० हजार रुपैयाँ र चौथो २५ हजार रुपैयाँ रहेको रेग्मीले बताए । ग्राण्ड फिनालेमा प्रवेश पाउने ५ जना प्रतियोगीलाई गीति एल्बम्मा गीत गाउने अवसर प्रदान गरिने जानकारी उनले दिए । आगामी अप्रिल १६ र १७ तारिखमा प्रतियोगिता सञ्चालन गरिने छ।

कार्यक्रममा मध्यपूर्व क्षेत्रीय उपसंयोजकद्वय मनोज कुमार श्रेष्ठ ‘गोर्खाली’ र राजेन्द्र अर्याल ‘जोन’ एवं मध्यपूर्व क्षेत्रीय महिला संयोजक सुमित्रादेवी पौडेलले विशेष सहकार्यको भूमिका निर्वाह गरेका छन्।

संयोजक रेग्मीले यो कार्यक्रमलाई सफल बनाउन साथ र हौसला दिने एनआरएनए अध्यक्ष कुमार पन्त, संघकी युवा तथा महिला विभाग प्रमुख, युवा संयोजक, महिला संयोजक लगायत पदाधिकारीहरु , सल्लाहकार तथा सम्पूर्ण एनआरएनए अभियन्ताहरू प्रति आभार पनि व्यक्त गरेका छन्। ‘हाम्रो साथमा मध्यपूर्व मात्र होइन, संसारभरका अभियन्ताहरूको भरपुर समर्थन र प्रोत्साहन छ र त आज यो अन्तर्राष्ट्रिय स्तरको कार्यक्रम आयोजना गर्न हामी लागि रहेका छौं। मलाई विश्वास छ, प्रत्येक प्रवासी नेपालीको हामीलाई साथ रहने छ,” उनले भने।

कार्यक्रमबारे जानकारी गराउन गत आइतबार आयोजित पत्रकार सम्मेलनमा एनआरएनए आइसीसीका सल्लाहकार टिबी कार्की, सचिव आरके शर्मा, प्रवक्ता डिबी कार्की, युवा संयोजक हिमाल गुरुङ, महिला संयोजक भोमा लिम्बु, आइसीसी सदस्य यस्मीन सैयद बेगम, एनसीसी कतारका अध्यक्ष मोहमद मोक्तदा लगायतका वक्ताले यस्तो किसिमको कार्यक्रम आयोजनाबाट मध्य पूर्वमा एनआरएनको गरिमा बढ्ने भन्दै यसलाई सफल पार्न आआफ्नो तर्फबाट भरपूर सहयोग हुने विश्वास दिलाएका थिए

कस्तो हुने छ प्रतियोगी छनौट प्रक्रिया ?

कार्यक्रममा ३ चरणमा प्रतिस्पर्धा गराएर विजेता घोषणा गर्ने तयारी गरिएको छ । पहिलो चरणलाई डिजिटल राउन्ड भनिएको छ । ‘डिजिटल राउन्डमा प्रत्येक प्रतियोगीले बढीमा २ मिनेटसम्मको सफा र प्रष्ट अडिसन भिडियो आ–आफ्नो राष्ट्रिय समन्वय परिषदलाई र रेकर्डका लागि आयोजक कमिटिलाई पनि सीसी गरी पठाउनु पर्नेछ ,’ संयोजक रेग्मीले भने । ‘प्रत्येक राष्ट्रिय समन्वय समितिले उक्त भिडियो हेरेर क्षेत्रीय समितिलाई छनौटका लागि पठाउने छ ।’ प्रत्येक क्षेत्रीय समितिले छनौट गरी कम्तीमा १२ जना प्रतियोगीको भिडियो क्लिप आयोजक कमिटीको इमेल ठेगाना rycmiddleeast@nrna.org र rcmiddleeast@nrna.org मा मिति १० अप्रिल २०२१ सम्ममा पठाउनु पर्ने छ ।

रेग्मीका अनुसार आयोजक कमिटीले प्राप्त प्रतियोगीहरूको भिडियो क्लिपलाई निर्णायक मण्डललाई पठाउने र डिजिटल अडिसनको भिडियोलाई निर्णायक मण्डलले मूल्याङ्कन गर्दै पहिलो चरणमा जम्मा प्रतियोगीमध्येबाट ३७ जना प्रतियोगीलाई मात्र छनौैट गरी ओपनिङ राउण्डमा लैजाने छ ।

छनौट भएका ३७ जना प्रतियोगीहरूको नामावली १३ अप्रिल २०२१ मा प्रकाशन गरी आयोजक समितिले प्रत्येक क्षेत्रीय समितिलाई जानकारी गराउने रेग्मीले बताए ।

त्यसपछि ओपनिङ राउन्डलाई ३ चरणमा बाँडिने र डिजिटल राउन्डबाट छनौट भएर यस राउन्डमा प्रवेश गरेका ३७ जना प्रतियोगीमध्ये अन्तरा राउन्डबाट १२ जना प्रतियोगी बाहिरिने र २५ जनाले ओपनिङ राउन्डको सारेगम राउन्डमा प्रवेश गराउने नियम तय भएको छ ।

‘ओपनिङ राउन्डको सारेगम राउन्डबाट थप १२ जना प्रतियोगी बाहिरिने र बाँकी १३ जना प्रतियोगीले पियानो राउन्डमा प्रवेश पाउने छन्, ती प्रतियोगी स्वतः फाइनल राउन्डमा सहभागी हुन पाउने छन्,’ रेग्मीले भने ।

फाइनल राउन्डलाई ३ चरणमा विभाजित गरिने छ । जसमा ओपनिङ राउन्डको पियानो राउण्डमा प्रवेश गरेका १३ जना प्रतियोगीमध्ये पहिलो चरणबाट ४ जना प्रतियोगीहरू बाहिरिने छन् ।

९ जना प्रतियोगीहरूले दोस्रो चरणमा प्रवेश पाउनेछन् । दोस्रो चरणबाट थप ४ जना प्रतियोगी बाहिरिने र अन्तिममा ५ जना प्रतियोगीले ग्राण्ड फिनालेमा प्रवेश पाउने रेग्मीले बताए ।

‘प्रतियोगीले ग्राण्ड फिनालेमा १–१ वटा गीत गाउनेछन्, त्यही गीतका आधारमा १ जना प्रतियोगी बाहिरिने र ४ जनालाई प्रथम, दोस्रो, तेस्रो र चौथो घोषणा गरिनेछ,’ रेग्मीले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *